Home / Uncategorized / के लेखिरहेका छौं हामी ?

के लेखिरहेका छौं हामी ?

  • केशवशरण लामिछाने

हालै पोखरामा भएको एक तालिममा पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले सहभागी हामी पत्रकारलाई सामान्य प्रश्न राख्नुभयो । सोध्नुभयो, ‘तपाईंले अहिलेसम्म लेखेको सम्झनलायक स्टोरी कुन हो ?’ हामी सहभागीले जवाफ त जेनतेन दिएका थियौं । तर उहाँको अनुहारमा सन्तुष्टिको भाव झल्किएन । फेरि सोध्नुभयो ।

अबको ५ वर्षपछि तपाईंलाई कहाँ भेट्न सक्छु ? हाम्रो जवाफले उहाँलाई झन् निराश बनायो । हामीमध्ये कतिले त पोखरामै भनेरसम्म जवाफ दियौं । त्यो जवाफ उहाँलाई निराश बनाउन हदैसम्म काफी थियो । उहाँको सोधाइको मर्म त करियरको कुन खुड्किलो पार गरेर कुन उचाइमा भएको देख्न सक्छु भन्ने थियो ।

त्यो तालिमका सहभागीसँग वरिष्ठ पत्रकार मैनालीको सवालजवाफ पोखराको पत्रकारिताको साँचो प्रतिविम्ब थियो । हो, हामीसँग सम्झनलायक स्टोरी नै छैन । हामीले कहिल्यै मेहेनतले लेखेको समाचार छैन । योचाहिं मैले पत्रकारितामा गरेको नमुना स्टोरी थियो भनेर बताउन हामीले किन सकेनौं भने लेखेकै थिएनौं ।

हामीसँग ५ वर्षपछि कहाँ हुन्छु भन्ने जवाफ पनि किन थिएन भने हामीसँग कुनै लक्ष्य नै छैन । न गन्तव्य छ न उद्देश्य । किन पत्रकारिता गरिरहेको छु, कस्तो पत्रकारिता गरिरहेछु भन्ने हामी पत्रकारहरुलाई नै थाहा नभएपछि हाम्रो पत्रकारिता कस्तो छ भन्ने क्रिस्टल क्लियर भइहाल्यो । पत्रकारिता होइन सिसिफसकारिता जो गरिरहेका छौं ।

समाचार भनेर हामीले जे लेखिरहेका छौं के ती समाचार हुन् त ? केहीकेही हामीहरु समाचार नभए पनि सूचना त दिइरहेका छौं नि भनेर पनि सन्तोष गर्न खोज्छौं । तर के हामीले दिएका सूचना पनि काम लाग्दा छन् त ? मूलधारका र प्रतिष्ठित पत्रपत्रिकाहरुकै समाचारलाई पनि विद्वान पत्रकारहरुले समाचारको कोटीमा राखेको पाइन्न । त्यसलाई उनीहरु पत्रकारिताभन्दा सूचनाकारिताको उपमा दिन्छन् । तुलनात्मक रुपमा पोखरामैचाहिँ विद्वानहरुले भनेको जस्तो सूचनाकारिताको हद पनि नभएकोचाहिँ सत्य हो ।

समाचार भनेर जे छापिन्छन्, ती सूचनाको हैसियत नराख्ने सामग्री किन हुन् भने ती पढेर जनतालाई कुनै खास जानकारी मिल्नेवाला छैन । सूचनाको रासबाट काम लाग्ने काम लाग्ने झिकेर समाचार बनाइयो भने हुने हो तर शब्दहरुको थुप्रो समाचारपत्रहरुमा लागेपछि त्यसलाई समाचार कसरी सम्झनु ?

हाम्रो पत्रकारिता किन सिसिफसकारिताजस्तो भने आज पनि साधारण सभा सम्पन्न । भोलि पनि साधारण सभा सम्पन्न । आज पनि फलाना मन्त्रीले यस्तो बताउनुभयो । भोलि पनि फलाना नेताले यस्तो बताउनुभयो । फलाना बिरामी, ढिस्कानाको मृत्यु ।

हामीले दिएको मृत्युको समाचार त बेलायती एकजना प्रकाशकले भनेको समाचार परिभाषासँग ठ्याक्कै मिल्छ । उनी भन्छन्, ‘हामी यस्तो व्यक्तिको मृत्युको समाचार दिइरहेका छौं, हाम्रा पाठकलाई त्यो व्यक्ति बाँचेको थियो भन्ने नै थाहा हुँदैन ।’ मत्युको समाचार त त्यस्तो व्यक्तिको दिनुपर्ने हो जस्को मृत्युले पाठकले थकथकी मानून् । जसको मृत्युले समाजले एउटा रिक्तता महसुस गरोस् । अथवा त्यस्तो अस्तित्वविहीन मान्छेको पनि मृत्युको समाचार दिऊँ जस्को मृत्युको कारणले यो राज्य व्यवस्था र हाम्रो समाजका कठिनाइहरुलाई मात्रै होइन हाम्रो सभ्यताको नृशंसतालाई उदांगो पारोस् ।

फलानो संस्थामा फलानो । फलाना फलाना पुरस्कृत भए, सम्मानित भए । यस्तै यस्तै लेखिरहेछौं हामी समाचारका नाममा । अझ पुरस्कार र सम्मानका ‘समाचार’ पढ्दा त यस्तो लाग्छ यो दुनियाँमा अब खराब नागरिकै छैनन् । जति छन् असल छन् । हर कोही व्यक्ति कुनै न कुनै टोल, क्लब, सहकारी वा केही न केही संस्थाबाट पुरस्कृत र सम्मानित जो भइरहेको छ । अझ हामी पत्रकारहरु पनि दिनहुँ पुरस्कृत भइरहेका छौं । दिनहुँजसो छापिन्छन् हाम्रा ‘समाचार’ ।

पुरस्कार सबैभन्दा धेरै पाउने यो समाजको कुनै समुदाय छ भने त्यो पत्रकार हो । पुरस्कारको समाचार पढ्दा त हामीले जति यो समाजलाई कसैले योगदान गर्न सकेकै छैन भन्ने अर्थ लाग्छ । के हामीले पत्रकारिताका माध्यमबाट समाजलाई त्यति योगदान गरेकै छौं ? हामीले आफैलाई चिमोटी सुन्ने हो भने हाम्रो अन्तरआत्माको आवाजले के भन्छ ? त्यो त पुरस्कृत गर्नेहरुलाई भन्दा पुरस्कृत भएका हामीहरुलाई नै बढी थाहा छ ।

पत्रकारितामा समाचारको सबैभन्दा सामान्य परिभाषा के छ भने, ‘पत्रकार सम्मेलन गरेर, विज्ञप्ति निकालेर वा पत्रकारलाई खोज्दै दिइने जानकारी विज्ञापन हुन्, समाचार त त्यस्तो सूचना हो, जुन कसैको स्वार्थमा लुकाइन्छ ।’ यो परिभाषाको कसीमा जाँचेर हामीले लेखेका समाचार घोट्ने हो भने हामीले के लेखेका छौं विज्ञापन कि समाचार ? थाहा भइहाल्छ ।

किन त्यसो भइरहेको छ भने हामी लेख्ने उद्देश्यले पत्रकारिता गरिरहेका छैनौं । हामीलाई पत्रकार भनिनु छ । पत्रकार हुँ भन्नु छ । लेख्नु छैन । त्यसैले ‘पत्रकारिता’ गर्छाैं । तर समाचार लेख्दैनौं । विज्ञापन लेख्छौं । बस पत्रकार भन्यो हिँड्यो । हामीलाई पत्रकारिता गर्न मन लाग्छ । तर समाचार लेख्न मन लाग्दैन । खोजीखोजी लेख्ने त झन् हामीले गर्ने उद्यम नै होइन । घटनाको स्थलगत रिपोर्टिङ पनि हाम्रो रुचिको विषय होइन भने खोजी त नजाने गाउँको बाटो भइहाल्यो । हुन्थ्यो भने उही ब्यानर टाँगिएको कार्यक्रममा ‘ब्यानर न्युज’ लेख्ने ध्याउन्नमा हुल बाँधेर हामी जाँदैनथ्यौं ।

हामीलाई पत्रकारिता पेसामात्रै पनि बन्न सकेको छैन, आर्थिक कारणले । पेसा नभए पनि प्यासन छैन भने किन पत्रकारिता गरिरहेका छौं यसको जवाफ पनि हामीसँगै छैन । प्यासन नभएको कुनै पनि कर्ममा कसैले पनि उत्कृष्ट नतिजा निकाल्न सक्दैन भने पत्रकारिता अलग किन हुन्थ्यो र ? तर पत्रकारिता भने पेसाभन्दा बढी प्यासन हुनुपर्ने विधा हो । यो जोखिमपूर्ण हुन्छ । यो साहसिक कर्म हो ।

व्यक्तिगत रुपमा आफ्नो केही बिगार नगरेको व्यक्तिसँग जोरी खोज्नुपर्छ पत्रकारले समाजका लागि बिगार गरेको छ भने । योगीले झैं जे भइरहेको छ राम्रैका लागि भइरहेको छ, जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने छुट पत्रकारलाई पटक्कै हुँदैन । पत्रकार युवराज घिमिरे सधैं भन्नुहुन्छ, ‘पत्रकारिताको धर्म आलोचना हो । तर कहिलेकाहिँ पत्रकारिता र व्रmान्तिकारिताबीच कत्ति फरक पनि देख्दैनौं हामी । पत्रकारिता भनेको क्रान्तिकारिता पनि होइन, पत्रकारितै हो ।’

समाचार हामीले किन भेटिरहेका छैनौं भने हामीलाई त अहिले सबै कुरा सामान्य लाग्न थालेको छ । असामान्य भए पो समाचार हुन्छ त ! जनताको कुनै काम गर्दा कर्मचारीले ‘चिया खर्च’ मागे पनि सामान्य लाग्छ । शिक्षकले नपढाए पनि सामान्य लाग्छ । नेताले झुठो बोले पनि सामान्य लाग्छ । व्यापारीले तोकिएभन्दा बढी पैसा लिए पनि सामान्य लाग्छ । डाक्टरले लापरवाही गरे पनि सामान्य लाग्छ । अनि हामी आफैंले नगरेको पत्रकारिता कसरी असामान्य लागोस् ?

रुखबाट स्याउ त न्युटनको टाउकोमा मात्रै खसेको थिएन । जहिलेदेखि यो धर्तीमा स्याउको रुख भयो र फल्न थाल्यो त्यहिल्यैदेखि खसिरहन्थ्यो । त्यही सामान्य कुराको कारण खोज्दा न न्युटनले गुरुत्व शक्ति पत्ता लगाए । पानी उमाल्दै गरेको किट्लीको ढकनी त जेम्स वाटको घरको अगेनोको आँगोले मात्रै उचालेको थिएन । हरेकको घरमा त्यसैगरी ढकनी उचालिन्थ्यो बाफले । अरुले जस्तै सामान्य लिएका भए जेम्सवाटले वाष्पशक्ति र स्टिम इन्जिन पत्ता लगाउन सक्थे होलान् र ? अरु सर्वसाधारणले जस्तै यहाँ यस्तै हुन्छ, यो त व्यावहारिक कुरा भन्न थालिएको छ र हामी पत्रकारले विकृति विसंगतिमा पनि समाचार देखिरहेका छैनौं ।

जे भइरहे पनि सामान्य लागिरहेको छ । राज्यको उत्तरदायित्वपना मात्रै होइन मानवीय मूल्य, मान्यता, करुणा र संवेदना समाजमा झैं हराएको छ हामी आफैंमा । कुनै सुविधा लिनुपर्‍यो भने आमसर्वसाधारणभन्दा विशेष हुँ भन्ठान्ने हामी पत्रकारले हेराइ र लेखाइमा चाहिँ किन स्याउ खसे झैं, बाफले किट्लीको ढकनी माथि धकेले झैं सधैं भइरहेको सामान्य कुरालाई नै न्युटन र जेम्सवाटले जस्तै शंकालु नजरले हेर्न सक्दैनौं ? किन पत्ता लगाउन सक्दैनौं समाचार ?

(लामिछाने अन्नपूर्ण पोष्ट दैनिकको पोखरा ब्युरो प्रमुख हुन्)

About Ranjan AC

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *