Home / VIDEO / आजादको ‘केही खास छ…’ हेर्नुहोस् त

आजादको ‘केही खास छ…’ हेर्नुहोस् त

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका पप गायक आजाद ढुंगानाले आफ्नो पछिल्लो ४ महिने नेपाल बसाइमा नयाँ म्युजिक भिडियो ‘केही खास’ दर्शकसामु पस्केर फर्किएका छन् । ८ वर्षअघि साथी बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका आजादले झन्डै ४ वर्षपछि ‘केही खास….’ बोलको गीत बजारमा ल्याएका हुन् ।

आफ्नो पहिलो सांगीतिक एल्बम ‘७१ ग्राम’ दर्शक स्रोतालाई पस्केर ६ वर्षअघि अमेरिका पुगेका आजादको ‘बिदा नै देऊ बरु…’ बोलको गीत सर्वाधिक चर्चित भएको थियो । त्यस्तै आजादकै साथी बोलको गीत चर्चित गायक एड्रियन प्रधानले हुबहु निकालेपछि संगीत क्षेत्रमा खैलाबैला नै मच्चिएको थियो ।

चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द र संगीतमा मात्र आवाज दिने भन्दै आजादको चर्चा भइराखेको समयमा योपटक भने उनले संगीतकार कल्याण सिंहलाई रोजेका छन् । संगीतकार सिंहले संगीत भरेको अजादको ‘केही खास…’ गीतलाई लेखु सहयात्री र नवराज सुवेदीले लेखेका हुन् ।

सोमबारबाट विश्वव्यापी रिलिज गरिएको ‘केही खास…’को म्युजिक भिडियोलाई नीतिन चन्दले निर्देशन गरेका हुन् । भिडियोमा आजादको मुख्य अभिनयलाई दिएकी मोडल सूर्या थापाले साथ दिएकी छन् । अमेरिका बस्ने भएकाले अचेल नेपालका सांगीतिक कार्यक्रममा खासै नदेखिने गायक आजादका गीतहरु स्रोता दर्शक माझ भने निकै लोकप्रिय छन् ।

४ वर्षअघि नेपाल आउँदा पनि चर्चित गायक एवं संगीतकार कालीप्रसाद बास्कोटाको शब्द संगीतमा ‘समर्पण…’ बोलको गीत संगीत बजारमा पस्केर आजाद अमेरिका फर्किएका थिए । तर योपटक भने नेपाली नयाँ वर्ष नेपालमै मनाउने गरी २ महिनापछि फेरि नेपाल फर्किने गायक आजादले बताएका छन् ।

गीत निकाल्दै अमेरिका जाँदै गरेका उनका पहिलाका गीतलाई स्रोता दर्शकले रुचाए पनि योपटकको आजादको ‘केही खास …’लाई स्रोता दर्शकले कत्तिको खास मान्ने छन् त्यो भने हेर्न केही समय कुर्नैपर्छ ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *