Breaking News
Home / Featured / शंकरलाई ‘लर्के जोवन’ बाट उत्कृष्ट मोडल जोडीतर्फ ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’

शंकरलाई ‘लर्के जोवन’ बाट उत्कृष्ट मोडल जोडीतर्फ ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’

‘लर्के जोवन’ गीतका मोडल शंकर कँडेलले उत्कृष्ट मोडल जोडीतर्फ ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ जित्न सफल भएका छन् ।

यो विधामा मनोनयमा परेका भागेरै जाम्लाका मोडल दीपक लामिछाने, साईत गीतका मोडल ध्रुब हिमाली, राम कसमका मोडल रमेश थापा, पिरतीको खेलका मोडल निर्मल क्षेत्रीलाई पछाडि पार्दै कडेलले अवार्ड हात पार्न सफल भएका हुन् ।

अवार्ड समारोहमा शंकरको उपस्थिति रहेन । अध्ययनका क्रममा जर्मनीमा रहेकाले उनका बुबा चन्द्र कँडेलले अवार्ड थापेका थिए ।

लोर्के जोवन गीतकै गायिका बीमा कुमारी दुरा पनि यसै गीतमा मनोनयनमा पर्दै अवार्ड हात पार्न सफल भइन् । बिमाकुमारी दुरा नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा सबैभन्दा अगाडि आउने नाम हो । सर्वाधिक गीत गाउने गायिका दुरा जब सन्यास लिएको घोषणा गरिन्, त्यसपछि उनी पछि परिन् । केही वर्षपछि पुनः गीत गाउन सुरु गरिन् । तर, बजारमा अरुको पकड जमिसकेको थियो । यद्यपी, बिमालाई मन पराउने अझै छन् । ढल्कँदो उमेरमा पनि उनको कोकिलकण्ठी आवाज उस्तै छ । धेरै वर्ष पछि बिमाकुमारी दुरा आफूले गाएको गीतको भिडियोमा देखिइन्, त्यो लोर्के जोवन नै थियो ।

गायिका दुरासँग धादिङे ठिटो शंकर कडेंलले लर्के जोवन गीत मात्र गाएनन्, उनले भिडियोमा समेत प्रस्तुत गरेका थिए । गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीसँग शंकरले रोमान्स गरेका थिए । शंकरको पहिलो भिडियो नै अवार्ड जित्न सफल बन्यो ।

यसअघि ‘पूर्णिमा’ बोलको आधुनिक गीत बजारमा ल्याएका कडेलले लोकदोहोरी गीत ल्याएका हुन् । शिव हमालको शब्द, ज्ञानेन्द्र शाहीको लय रहेको गीतलाई आशिष अविरलले संगीत संयोजन गरेका हुन् ।

हाल जर्मनीमा बस्दै आएका शंकर गायन र अभिनय दुबै कुरालाई अगाडि बढाउने बताउँछन्। जर्मनीमा रहेर ईन्जिनियरिङ बिषय अध्ययनरत शंकर यसै गीतको रेकर्ड र छायांकनका लागि नेपाल आएका थिए । उनी केही दिनमै जर्मनी फर्केका थिए ।

आयोजक संस्था क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले लकडाउनले सुस्ताएको नेपाली संगीत क्षेत्रमा क्रियाशील बनाउन पनि यो अवार्डको आयोजना गरिएको बताए । विगत डेढ दशकदेखि नेपाली चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रालिले अब यो क्षेत्रको विकास र प्रोत्साहनका लागि अवार्ड आयोजना गरेको गुरुङले बताए ।

अवार्ड विविध ४७ विधामा प्रदान गरिएको थियो । गीतसंगीततर्फ, गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाँकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिएको थियो । यस्तै, चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिएको थियो । फेसन विधामा फेसन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिएको छ ।

यो अवार्डका लागि २०७६ वैशाख १ बाट २०७८ असार मसान्तसम्म रेकर्ड भएर सार्वजनिक रूपमा आएका गीतसंगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र फेसन कार्यक्रम, मोडलिङ जस्ता विधाले भाग लिएका थिए ।

सम्बन्धित समाचारः

‘लर्के जोवन’ सार्वजनिक, बिमाकुमारी, शंकर र अञ्जलीलाई रुचाउने आश

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *