Home / भिडियो / ‘बनकी चरी’ टिकटकमा मनकी चरी

‘बनकी चरी’ टिकटकमा मनकी चरी

‘जुन पनि रातिमा रुँदो हो, त्यही भएर पातमा शित हुँदो हो’

नेपाली टिकटक युजरले कुनै पनि समय होम पेज फर यु मा यस गीत सुनेकै हुनुपर्छ । देवी घर्तीको आवाजमा रहेको यो टुक्का अहिले लोकगीत प्रेमी टिकटक पारखीका लागि प्रिय बनेको छ । युवा गायक अर्जुन सापकोटाले केही समयअघि मात्र बजारमा ल्याएको ‘बनकी चरी’ शीर्षकको गीतमा रहेको यस टुक्का मात्र होइन, अन्य टुक्काहरु पनि उत्तिकै रुचाइएका छन् ।

‘फलाम बाङ्गो बनायो आरनले, मन बांगियो मयाकै कारनले’

‘पहिल्यै तिम्रो भन्याभा बन्दिन, किन तयार हुन्थेँ र मन दिन’

‘पहिला पछि लाइरन्थ्यो काले, अहिले देख्दा बोल्दैन मयाले’

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

यी टुक्काहरुमा हजारौं भिडियो बनेका छन् । सर्जक अर्जुन सापकोटा मात्र होइन, उनलाई आवाजमा साथ दिने लोकप्रिय गायिका देवी घर्ती आफै एक्टिभ टिकटक युजर हुन् । देवीको ७० हजार फलोअर्स छ । आवाजसँगै भिडियोमा मोडलका रुपमा देखिएका चर्चित गायक राजु ढकाल पनि टिकटक प्रेमी हुन् । ढकाललाई ४० हजारले पछ्याएका छन् । ‘बनकी चरी’ गीतको लय, स्वर स्वयं अर्जुनको हो । उनको पनि ५५ हजार फलोअर पुग्न लागेको छ । भिडियोमा अपोजिट रोलमा देखिएकी चुलबुले मोडल करिश्मा ढकालले पनि टिकटकमा ‘बनकी चरी’ गीतमै दुई भिडियो बनाएकी छन् । एक जनालाई पनि फलो नगरेकी करिश्मालाई टिकटकमा चिहाउने भने लाख बढी छन् ।

‘बनकी चरी’ गाउनेदेखि नाच्नेसम्मका सबै टिकटक प्रयोगकर्ता भएकाले पनि, टिकटकमा छाएका लोकदोहोरीमा पछिल्लो समय ‘बनकी चरी’ गीतले नै चर्चा बटुलेको छ ।कलाकर्मीहरुले अहिले युट्युबमा भ्यूजसँगै टिकटकमा कतिको भाइरल भयो ? भन्दै गफिन्छन् । सायदै कलाकारलाई टिकटकले नछोएको होला । युट्युबमा पनि बनकी चरी गीतले राम्रो भ्यूज बटुलेको छ । डिसेम्बर ७ मा अपलोड गरिएको भिडियोले साढे ८ लाख भ्यूज बटुलेको छ । सर्जक अर्जुनकै व्यक्तिगत युट्युब च्यानलबाट अपलोड गरिएको भिडियोले सुरुवातमै यतिको मन जित्नु भनेको सन्तोषजनक मान्न सकिन्छ ।

माया प्रेमको कथा बोकेको गीतमा विछोडको क्षणलाई समावेश गरिएको छ । कृष्ण बस्यालको शब्द रहेको गीतमा गहिरो प्रेममा परेर अन्तिममा विछोडिएका जोडी एक अर्कालाई दोष थुपार्दैमा ठिक्क छन् । भिडियो पनि रुचाइएको छ । स्मृति तिमल्सिना ‘गुरुआमा’ को निर्देशनमा रहेको भिडयोलाई करन चैसिरले खिचेका हुन् । विकास ज्ञवालीले भिडियोलाई राम्रो देखाएका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको एरेञ्ज कृष्ण बिक ‘भाञ्जा’ ले गरेका हुन् ।

उदयीमान अर्जुन

सर्जक अर्जुन सापकोटालाइे नेपाली लोकसंगीत क्षेत्रमा राम्रो सम्भावना बोकेका उदयीमान गायकका रुपमा लिन सकिन्छ । समयसापेक्ष आफूलाई प्रस्तुत गर्नुका साथै प्रविधि पोख्त रहेकाले पनि सापकोटाबाट आश गर्ने ठाउँ धेरै छ । अग्रज कलाकर्मीहरु नआत्तिने र नमात्तिने हो भने अर्जुनको भविष्य राम्रो देख्छन् ।

ठूलालाई आदर र सानासँगको मित्रवत् व्यवहार नै सफलताका आधार हुन् भन्ने मन्त्रलाई आत्मसात गरे अर्जुनले पछि फर्केर हेर्नुपर्दैन । टिकटकमा युवती फ्यानले घेरिएका अर्जुनलाई फेसबुकमा पछ्याउने पनि उत्तिकै छन् । सञ्चारकर्मी रहेकाले पनि आफूलाई पब्लिकमाझ प्रस्तुत गर्न उनलाई सहज भएको छ । स्टेज पर्फमेन्समा पनि अब्बल भएकाले स्थानीय मेला महोत्सवमा उनलाई आयोजकले निम्त्याउन छुटाउँदैनन् ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *