Home / भिडियो / पोखरामा फर्सीमुन्टा तरकारीले परिवार नै बेहोस्, धन्न ज्यान जोगियो

पोखरामा फर्सीमुन्टा तरकारीले परिवार नै बेहोस्, धन्न ज्यान जोगियो

रञ्जन अधिकारी  पोखरा, २० जेठ / फर्सीको मुन्टा खाद्य सागसब्जी नै हो । यसले कुनै बेफाईदा गर्दैन तर पोखराको एक परिवारका सबै सदस्य फर्सीमुन्टा तरकारी खाने बित्तिकै बेहोस् हुँदा चिकित्सक नै आश्चर्यचकित् छन् । पोखरा लेखनाथ १२ शितलदेवीका प्रेमबहादुर गुरुङका परिवारका चार सदस्य अहिले पनि मनिपाल अस्पतालमा उपचाररत छन् । चौबिस घण्टासम्म पनि बीसको उन्नाईस हुनुबाहेक अझै राम्ररी होस खुलेको छैन । यद्यपी, बिरामीको अवस्था सुधारोन्मुख रहेको परिवारका सदस्यले बताएका छन् ।

प्रेमबहादुरकी श्रीमती लक्ष्मीले विहीबार बेलुकीलाई आफ्नै बारीको फर्सीमुन्टा टिपेर तरकारी बनाएकी थिईन् । खाना खानेबित्तिकै लक्ष्मी सहित श्रीमान र छोरा, नाति बेहोस् भएका हुन् । खाना नखाने छोरा कृष्णबहादुर मात्री सकुशल अवस्थामा छन् । फर्सीको मुन्टाको तरकारी खानेबित्तिकै ६९ वर्षीया लक्ष्मी, श्रीमान् ८० वर्षीय प्रेमबहादुर, ३७ वर्षीय छोरा गमबहादुर र ११ वर्षीया नाति अनमोल बेहोस् भएका हुन् ।

बेहोस् अवस्थामा चार जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा त्यहाँ उपचार नहुने भनेपछि मनिपाल शिक्षण अस्पताल पु¥याईएको थियो । चारै जनाको आईसियुमा उपचार भईरहेको प्रहरी हवल्दार रामप्रसाद लामिछानेले जानकारी दिए । अझै पनि सबै जना बर्बराउने गरेको उनले बताए ।

‘आमाले राम्ररी आँखा देख्नुहुन्न । कान पनि सुन्नुहुन्न । फर्सीमुन्टा टिप्नुभएछ । नजिकै धतुरोका बुटाहरु पनि थिए । तरकारीमा त्यो पनि भेटियो’ कृष्णबहादुरले भने — ‘बारीमा विषादी औषधि पनि राखिएको थियो ।’ उनले आफू बाहिर पसलबाट आउँदा नै खाएर आईसकेकाले खाना नखाएको बताए ।

‘मेरो छोरा अनमोलले पनि मःम खाएर अघाएँ बाबा भन्दै थियो । कर गरेर खाना खान लगाएँ । खानेबित्तिकै बच्चा भएकाले सुरु नै छोरोबाट भयो ।’ — उनले घटनाबारे बताए — ‘बाबु बेहोस् हुनेबित्तिकै बुबालाई हेरेको बुबा पनि सेतो आँखा पल्टाउनुभो । भाइलाई बोलाउन लागेको भाइ उतातिर ढल्यो । १५ मिनेटमै आमा पनि बेहोस् हुनुभयो ।’ खाना खाएपछि आमा भने चार थाल माझ्न भ्याएको कृष्णबहादुरले सुनाए ।

कृष्णबहादुरले आफूले समेत खाएको भए उद्धार गर्ने अवस्था नरहेको बताउँछन् । तत्काल अस्पताल लगेकाले सबैको ज्यान बचाउन सकिएको उल्लेख गरे । कृष्णका अरु तीन छोराछोरी मामाघरमा थिए । गमबहादुरका परिवार भने कोरियामा छन् । कृष्णका श्रीमतीको तीन महिनाअघि मात्रै असामयिक निधन भएकाले घरमा आमा बाहेक कुनै महिला छैनन् । त्यसैले आँखा नदेख्दा नदेख्दै पनि आमाले सबै घरयासी काम गर्नुपरेको उनले बताए ।

चारै जना अहिले पनि आईसियूमा छन् । राम्ररी होस् फर्किसकेको छैन । विषादी च्याउ जस्तो शरिरका भित्री अंगमा असर परेनपरेको बारेमा चिकित्सिकले केहि नबताएको कृष्णबहादुरले जनाए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

About Mazzako News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Solve to post your comment: *